प्रत्येक गाउँपालिकामा सिप विकास केन्द्र स्थापना गर्छु : डिना उपाध्याय
मकवानपुर, १५ मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले रोजगारी सृजनाको लागि प्रत्येक गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने उद्घोष गरेकी छिन् । शुक्रबार मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेमा भएको चुनावीसभामा उनले नेपाली समाजमा बेरोजगारी समस्याले जरो गाडेको भन्दै उनले हरेक गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने बताएकी हुन् । पटक पटक जितेर विकासको नाममा केही नगरेका र गाउँ फर्केर नआएकाहरुले अहिले गरिब जनतामाथि कम्बल र चामल बाँड्दै भोटको राजनीति गरिरहेको आरोप लगाइन् । ‘तपाइँहरु यही अवस्थााम रहन चाहने, सँधै अरुसंग चामल र कम्बलको आश गरिरहने की ? समृद्धि एवम् विकास चाहने अब रोज्ने बेला आएको छ’, काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डीनाले भनिन्, ‘अरु बेला फर्केर नआउनेहरु कम्युनिष्टहरु अहिले चुनावको बेला चामलसंग भोट साट्न आउँदैछन्, विचार पु¥याउनुहोला ।’ यस्तै ग्रामीण क्षेत्रको महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाइन् ।
यस्तै काँग्रेसले मकवानपुरको लागि पठाएको केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले समृिद्ध र विकास रोज्ने कि निरंकुशता ? भन्ने जनताको हातमा रहेको बताउँदै विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । मकवानपुरले प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मन्त्री हुनेसम्म हैषियत भएका उम्मेदवार पाएको भन्दै उनले ढुक्क भएर लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरे ।
प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले चुनाव जितेपछि हाँडीखोलाको प्रत्येक वडाको विकासको लागि १०/१० करोड बजेट विनियोजन गरिने बताउँदै यो अवसरबाट वञ्चित नहुन अनुरोध गरे । ‘पटक पटक कम्युनिष्टलाई जिताउँदा पनि विकासको काम केही नहुँदा थाक्नुभएको छ । यो निर्वाचन जनताको भविष्य संग जोडिएको छ’, बानियाँले भने, ‘अहिले मानवता भित्रको एकता र हिँसा चाहने वीचको एकता छ, कसलाई रोज्ने तपाईहरुको जिम्मा ।’ यसअघि जितेर पनि केही गर्न नसकेकाहरु अहिले जात र भुगोलको कुरा गरेर जनता झुक्याउन आइरहेको भन्दै बानियाँले सचेत रहन मतदातालाई अनुरोध गरे ।
लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधीसभाको लागि समानुपातिक उम्मेदवार राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिँहले ३ पटक जितेका विरोध खतिवडाले जनताको लागि केही गर्न नसकेको भन्दै उनले फेरि पुरानै ठूल्ठूला नारा लिएर जनता झुक्याउन घरदैलोमा व्यस्त रहेको आरोप लगाए । यसअघि जनताको मतसहित जितेर गएका खतिवडा १७ बर्ष पछि बल्ल गाउँ आएको भन्दै उनले अब फेरि उही नेतालाई जिताउने गल्ती नगर्न अनुरोध गरे । यस्तै अर्का समानुपातिक उम्मेदवार काँग्रेसका पवित्रा विश्वकर्माले लोकतन्त्रको रक्षा एवम् मकवानपुरको विकास र समृद्धिको लागि रुख चिन्हमा मतदान गर्नु आवश्यक रहेको बताइन् । गठबन्धनका चुनावी अभियानका संयोजक पवन खड्काको संयोजकत्व एवम् ४ नम्बर क्षेत्रीय प्रचारप्रसार संयोजक भरत पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता भीमसेन महत, लोक मुक्तान, राप्रपाका नेता कमल दोङलगायतले फेरि कम्युनिष्टलाई जिताएर विकासमा सँधै पछि नपर्न अनुरोध गर्दै लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।
एकसय १७ जना काँग्रेसमा प्रवेश
हाँडीखोलाको मसिनेमा भएको लोकतान्त्रिक गठबन्धनको कार्यक्रममा मनहरी–३ बाट नवराज शाही ठकुरीको नेतृत्वमा र ४ नम्बर वडाबाट उज्वल बिष्टको नेतृत्वमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी एकसय १७ जना काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस जिल्ला सभापति इन्द्रबहादुर बानियाँलगायतले टीका र खादालगाएर काँग्रेसमा स्वागत गरेका हुन् । नवप्रवेशीलाई उनीहरुको योग्यता र क्षमता अनुसार पद र जिम्मेवारी दिँदै जाने काँग्रेस नेताहरुले आश्वासन दिएका छन् ।
