संविधान संशोधन गर्न हामी लागि परेका छौँ – बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको बताए ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसद्मा कुरा उठाइराखेको र मन्त्रिपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेस गर्न लगाउने आश्वासन दिए ।
उनले भने, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसद्बाट मात्रै सबै थोक होस भनेर मात्रै हुँदैन । साङ्केतिक हुन्छ । किनभने हामी संसद्बाट पनि बोलिराखेका छौँ । सडकबाट पनि बोलकै छौँ । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अब हामीले चाहिँ एक ढिक्का भएर अगाडि बढौँ । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिबद्ध ।’
