त्यसपछि हेर्नुहोस् मकवानपुरको विकास : बानियाँ

तु खबर संवाददाता
२०७४ मंसिर १०, आईतवार १९:१९

मकवानपुर, १० मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को २ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराएर मकवानपुरको विकास हेर्न अनुरोध गरेका छन् ।

आईतबार मनहरी गाउँपालिकाको लोथरमा भएको कोणसभामा उनले पटक पटक जितेर गएका कम्युनिष्टले विकासको नाममा केही नगरेको तितो यथार्थलाई मनन् गरेर यसपटक काँग्रेसका उम्मेदवारलाई मकवानपुरको क्षेत्र नम्बर २ बाट विजयी गराउन अनुरोध गरेका हुन् । ‘आजको दिनसम्म काँग्रेसले जनतालाई धोका दिने र जनताको नाममा लुटेर खान काम गरेको छैन । काँग्रेस जे बोल्छ, त्यो पूरा गर्दै आएको छ’, उनले भने, ‘पटक पटक कम्युनिष्टलाई जिताएर मार खाँदै आएका तपाइँहरुले यस पटक हामीलाई जिताउनूस्, विकास कस्तो हुन्छ भनेर देखाउनेछौँ ।’ दुईवटा फरक धारमा रहेका कम्युनष्टिहरु वाम गठबन्धनको नाममा फेरि जनता झुक्याउन आइरहेको भन्दै बानियाँले समृद्धि र विकास रोज्ने कि ? उही पुरानै नेतालाई रोज्ने जनताको अधिकारको बिषय भएको बताए । कार्यक्रममा एमालेका सिताराम मोक्तान, माओवादी केन्द्रका जिल्ला सदस्य इन्द्रबहादुर मोक्तान दीपक, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य अशोक मोक्तानसहित २ सय ४४ जना काँग्रेसमा प्रवेश गरेका थिए ।
काँग्रेसका वडा सभापति युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, लोकतान्त्रिक गठबन्धनका तर्फबाट समानुपातिक उम्मेदवारहरु पवित्रा विश्वकर्मा, जानकी लामा, गोविन्द रिजाल, गठबन्धनका नेताहरु भरत पराजुली, तेजराज उप्रेती, पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*