जोखिममा रहेका बालबालिकाको संरक्षण
मकवानपुर । युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज मकवानपुरले सञ्चालन गरेको घटना व्यवस्थापन कार्य प्रभावकारी बनेको पाइएको छ । जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई संरक्षणका लागि आवश्यक सहयोग गर्न मकवानपुरको साविकका विभिन्न १५ वटा गाविसमा परियोजना सञ्चालित छ ।
मकवानपुरको साविकका गाविस राइगाउँ, बेतिनी, धियाल, फापरबारी, शिखरपुर, आमभञ्ज्याङ्, नामटार, मनहरी,सरिखेत, हाडीखोला, चुरियामाई, पदमपोखरी, गोगने,चित्लाङ् र भीमफेदीमा सञ्चालित घटना व्यवस्थापन प्रकृयामार्फत जोखिममा रहेका बालबालिका लाभान्वित भएका हुन् ।
जिल्ला बालकल्याण समिति मकवानपुरसंगको समन्वय तथा गाउँगाउँमा रहेका बाल संरक्षण समितिसंगको सहकार्यमा जोखिममा रहेका बालबालिका पहिचान गरी संरक्षणका लागि आवश्यक कार्य घटना व्यवस्थापन प्रकृयामार्फत मकवानपुरमा भइरहेको हो ।
परियोजनाका संयोजक सुशीलराज गिरीका अनुसार बालबालिकाको जोखिम तह पहिचान गरी नगद तथा अन्य आवश्यक सहयोग प्रदान गर्ने गरिएको छ । उनका अनुसार नगद पाँच हजार देखि बीस हजार रुपियासम्म आर्थिक सहयोग प्रदान गर्दै जोखिममा रहेका बालबालिकालाई संरक्षण प्रदान गर्ने काम भइरहेको हो । बालबालिकाको अवस्था पहिचान गरी शिक्षा, खाद्यान्न तथा जिविकोपार्जन सहयोगमार्फत जोखिम न्यूनीकरण गर्नका लागि आफूहरुले युनिसेफ नेपालसंगको सहकार्यमा परियोजना सञ्चालन गरेको बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।
सरकारी निती नियमलाई सघाउ पु¥याउने गरी सञ्चालनमा ल्याइएको परियोजना कार्यान्वयनमा जिल्ला बालकल्याण समिति मकवानपुरसंगको समन्वय रहने भएकाले आफूहरुले गरेको काम प्रभावकारी भएको जिल्ला कार्यक्रम संयोजक खतिवडाले बताए ।
