बागमती प्रदेश सरकार संचालन गर्न कार्यदल गठन

तु खबर संवाददाता
२०७८ कार्तिक २५, बिहीबार ०७:५९

मकवानपुर । बागमती प्रदेश सरकार संचालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको हो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो ।

कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको कार्यदल सदस्य सांसद तामाङले जानकारी दिए । कार्यदलले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने बताइएको छ । कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्ने संयोजक दुलालले बताए ।