नाइजेरियामा भएको आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु : प्रहरी

तु खबर संवाददाता
२०७४ मंसिर ६, बुधबार ०७:३४
तस्बिर–गुगल

अवुजा, नाइजेरिया,६ मङसिर । उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको प्रहरीले जनाएको छ ।
बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताउनुभयो ।

अबुवाकरले भन्नुभयो, “मङ्गलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ ।”

बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए । फ्रान्सको राज्य सञ्चालित समाचार संस्था (एएफपी) लाई एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको बताएका छन् ।

आक्रमणको जिम्मा समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन ।

नाइजेरियामा बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ भने करिब २३ लाख मानिस विस्थापित बनेका छन् । भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकू समूह बोको हरामले लक्षित गर्दै आएको छ ।

बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुनः नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको हुनसक्ने अनुमान स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।-(रासस/सिन्ह्वा/एएफ्पी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*