प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई, आजै लिए सपथ

तु खबर संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १६:५६

विराटनगर । प्रदेश नम्वर १ सरकारको मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को उपचार २ अनुसार, मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए ।

उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगतै प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय तोकिएको थियो । नवनियुक्त मुख्यमन्त्री राईले आजै नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अधिकारीले सपथ गारएका हुन् ।

मुख्यमन्त्री राईसँगै नेपाली कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमको सपथ लिएकी छन् ।