हेटौंडा आएर प्रभाकरले भने – माओवादी र प्रचण्डविरुद्ध षडयन्त्रपूर्वक लाग्नेहरु परास्त हुनेछन्
मकवानपुर । नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले नेकपा माओवादी केन्द्र अब नयाँ ढंगबाट अघि बड्ने बताएका छन् । माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) हेटौँडा उपमहानगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै नेता शर्माले माओवादी चुनौतीलाई परास्त गर्दै अघि बढ्ने शक्ति भएकोले अब माओवादीले नै नेपाली राजनीतिको नेतृत्व गर्ने बताए ।
प्रतिगामी तत्वहरु माओवादी पार्टी र प्रचण्ड बिरुद्ध षड्यन्त्रपूर्वक लागेको भएपनि अब त्यस्ता स्वेच्छाचारी, संविधान विरोधी र लोकतन्त्र विरोधीहरुलाई जनताकै बलमा परास्त गरिने उनले बताए । समृद्ध मुलुक निर्माणको लागि युवा शक्तिको भूमिका अहम हुने भन्दै शर्माले अब प्रत्येक गाउँ, नगर तथा उपमहानगरमा ५ सय भन्दा बढी वाईसियलको दस्ता निर्माण गर्ने गरिने बताए ।
माओवादी बिना देश विकास संभव नरहेको बताउँदै मन्त्री शर्माले आगामी निर्वाचनमा माओवादीलाई जनताले मुलुकको नेतृत्व सुम्पिनुपर्ने बताए । शर्माले आफुहरुले बिगतमा प्रतिगामी चरित्र विरुद्धको आन्दोलनको नेतृत्व गरेको बताउँदै अब चाँडै देशको नेतृत्व गर्ने बताए । मुलुकमा हरेक परिवर्तनहरुमा माओवादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको भन्दै शर्माले माओवादीकै नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरिएको इतिहास ताजा रहेको बताए ।
मन्त्री शर्माले वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायीत्व बहन गर्दै जनताको हित हुने काम गरिरहेकोसमेत बताए । उनले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तीले थप जटिलता थपिदिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए । हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेति नष्ट हुँदा देशको अर्थतन्त्र सँगै गरिब किसानकोे जिविकामा समेत जटिलता थपिएको उनले बताए ।
प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका ती कृषकहरुको पिडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकहरुलाई राहत उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहिद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताए । अर्थ व्यवस्थालाई थप मजबुद बनाउने उनले बताए । आन्तरिक राजश्व संकलनमा बृद्धि गर्ने, राजश्व चुहावट रोक्ने उनको योजना छ ।
बर्षौँसम्म लोडसेडिङ्को समस्या झेल्दै आएका जनताले अहिले २४ सै घण्टा बिजुली बाल्न पाएको बताउँदै उनले जनताको साथ पाए जस्तोसुकै चुनौतीको सामना गर्न आफु तयार रहेको बताए । शर्माले आजै मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्माण गरिएको रुद्र बाटिकाको अवलोकनसमेत गरेका छन् । उनले शहिद पाख्रिनको शालिकमा पुष्प अर्पण गर्दै हजारौँ ज्ञात अज्ञात शहिदहरुको बलिदानीबाट मुलुकले संविधान, लोकतन्त्र र स्वतन्त्रता प्राप्त गरेको बताए ।
उनले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग कलकारखाना आफ्नो नेतृत्वमा संचालनमा आउने बताए । ‘हेर्दै जानुस्, बर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग संचालनमा आउँछ, हेटौंडा कपडा उद्योगलाई संचालनमा ल्याएर सयौँलाई रोजगारीको अवसर प्रदान गरिनेछ । कपडा उद्योगमात्र होइन, बन्द अवस्थामा रहेको सबै उद्योग संचालनमा ल्याउँछौँ ।’ उनले भने ।

