कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

तु खबर संवाददाता
२०७४ मंसिर ५,मंगलवार ०८:२०

–सिद्धराज भटृ
धनगढी, ५ मंसिर । थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ ।

विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

नौजना प्रतिस्पर्धी भए पनि मुख्य प्रतिस्पर्धा भने दुवै पूर्व मन्त्रीबीच हुने आँकलन गरिएको स्थानीयवासी चेतराम चौधरी बताउनुहुन्छ ।

दुवै पूर्व मन्त्रीबीचको कडा र रोचक प्रतिस्पर्धा हुने आँकलन भइरहँदा उहाँहरुलाई विगतमा थरुहट आन्दोलनको नेतृत्व गर्नुभएका भानुराम थारुको चुनौती छ ।

संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्नुभएका भानुरामले पाउने मतका आधारमा सो क्षेत्रमा जित र हार प्रभावित हुन सक्ने बताइन्छ ।

फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भइसके पनि लोकतान्त्रिक फोरमका निवर्तमान भानुराम विद्रोही उम्मेदवार जस्तै देखिएकाले पूर्वमन्त्री रामजनमलाई चुनाव जित्न केही चुनौती थपिएको हो । विगतमा भएको थरुहट आन्दोलनको नेतृत्व गर्नुभएका भानुरामले दोस्रो संविधानसभाको चुनावमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेस्रो स्थानमा आउनुभएको थियो ।
वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका पूर्व कृषि मन्त्री गौरीशंकर आफ्नो कार्यकालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेका कारण चर्चामा हुनुहुन्छ ।

विवादरहित ढंगले उम्मेदवार तय गरिएकाले वाम गठबन्धनकै उम्मेदवार गौरीशंकरको जित सुनिश्चित रहेको उहाँका समर्थकको दाबी छ भने काँग्रेसका नेता कार्यकर्ता भने भानुरामको उम्मेदवारीले धेरै फरक नपर्ने भन्दै काँग्रेसले बाजी मार्नेमा ढुक्क छन् । “फोरम लोकतान्त्रिक र काँग्रेसबीचको एकीकरणले थोरै मत अन्तरले काँग्रेसका उम्मेदवारको विजयी हुने आधार बलियो देखिन्छ ”, स्थानीय कलेसु चौधरीले भन्नुभयो, “कैलालीमा रामजनमको विकल्प हुन सक्दैन ।”

सबै मुख्य दल र स्वतन्त्र गरी यो क्षेत्रमा प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा सात गरी १२ थारु नेता चुनावी मैदानमा उत्रिएका छन् ।

कैलालीको भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ वडा, घोडाघोडी नगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका ६ र ९ नं वडाबाहेक अरु सात वडा मिलेर बनेको क्षेत्रमा ९१ हजार ८३३ मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा रहेका दुवै नगरपालिकामध्ये घोडाघोडीमा एमाले, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादीले निर्वाचन जितेका थिए । यो क्षेत्रका तीन वटा स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रले ३० हजार ५५९ मत पाएकामा काँग्रेस, फोरम लोकतान्त्रिक राप्रपाले २९ हजार १११ मत पाएका थिए ।

प्रतिनिधिसभा सदस्यमा यी उम्मेदवारबाहेक राप्रपा राष्ट्रवादीका प्रेमराज चौधरी, राजपाकी मीना चौधरी, विवेकशील साझा पार्टीका दीपक गौतम, नेकपा (माले)का परेकबहादुर रावल राजमोका मेर्जन शाही, नयाँ शक्तिका डिल्लीराज जैशी पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रदेशसभामा पनि यो क्षेत्रमा थारु नेताबीच चर्को प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नं ३ को ‘क’ बाट प्रदेशसभामा काँग्रेसका पुरन चौधरीले वाम गठबन्धनका वीरमान चौधरीसँग प्रतिस्पर्धा गरिरहनुभएको छ । यी दुई उम्मेदवारबाहेक यो क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका जोगीराम चौधरी, नयाँ शक्तिका राजाराम चौधरी पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

क्षेत्र नं ३ को ‘ख’ बाट भने काँग्रेस र वाम गठबन्धन दुवैले पहाडी समुदायका उम्मेदवार बनाएका छन् । वाम गठबन्धनले अमर साउद र काँग्रेसका लक्ष्मण शाहीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । दुवै उम्मेदवारबीच थारु मतदाता प्रभावित गर्ने होडबाजी चलेको छ । यीबाहेक यो क्षेत्रमा राजमोका किसनबहादुर राना, नयाँ शक्तिका कृष्णकुमार चौधरी, राप्रपाका देवेन्द्र मल्ल, राप्रपा प्रजातान्त्रिकका रामनाथ चौधरी, राजपाकी सीता थारु र विवेकशील साझाका हरिनन्द जोशी पनि प्रतिस्पर्धामा हुनुहुन्छ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*