राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने, कुमारी मोक्तान पनि मन्त्री बन्दै
मकवानपुर । बागमती प्रदेशमा विहिबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्ने र सपथ समेत आजै लिने छन् ।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई आफ्नो दावी पेश बुधबार आह्वान गरेसँगै पाण्डेले आफ्नो दावी पेश गरेका हुन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार कायम राख्ने भन्दै बुधबार प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा पेश गरेकी थिएन । बहुमत सांसदको समर्थन रहेको भन्दै नेता पाण्डेले दावी पेश गरेपछि उनको नेतृत्वमा गठबन्धनका तर्फबाट सबै दलका उप नेताहरु मन्त्री रहने नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिएका छन् । दलका नेताहरुले गठबन्धनका तर्फबाट नेतृत्व गर्ने मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेको उनले बताए ।
उनका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने छन् । सरकारका जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने बताइएको छ । मुख्यमन्त्री पाण्डेसहित मोक्तान, भँडेल र खनाललेसमेत आजै सपथ लिने गरी तयारी अघि बढाइएको स्रोतले बताएको छ ।
यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा माओवादीबाट शालिकराम जम्कट्ट्ल आन्तरिक मामिला तथा कानूनमन्त्री र युवराज दुलाल सामाजिक विकास मन्त्री बनेका छन् । कांग्रेस भने पहिलो पटक भँडेलको नेतृत्वमा सरकारमा जाँदै छ । जसपाका प्रेम तामाङ्लाई मन्त्रालयको जिम्मेवारी दिने वा नदिने भन्ने विषयमा कुनै टुंगो नलागेको स्रोत बताउँछ ।
