वार्षिकोत्सवको अवसरमा साक्षरता कार्यक्रमको आयोजना
मकवानपुर । सांग्रिला विकास बैंक रजैयाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ गोलघरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बैंकका तर्फबाट रजैया शाखाका शाखा प्रबन्धक विमल संजेलले स्थानीयवासीलाई बित्तीय साक्षरता प्रदान गरेका थिए ।
प्रबन्धक संजेलले बैंक तथा वित्तिय संस्था, यसको महत्व, बचत, लगानी, कर्जा, बिमा तथा रेमिटेन्सको सदुपयोगिता तथा महत्वको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीयहरुबाट आएका विविध जिज्ञासाको सहजीकरण गरिएको थियो । कार्यक्रममा स्थानीय युवा, महिला तथा पुरुष गरी करिव ५० जनाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमले आफूहरुलाई बैंक तथा वित्तीय संस्था के हो ? र यसबाट कसरी कर्जा तथा बचतमा सही सदुपयोग गरी लाभ लिन सकिन्छ भन्ने विस्तृतमा जानकारी पाइएको स्थानीय नानी बाबु गोदार थापाले बताए । बैंकले आफ्नो १७ औं वार्सिकोत्सबका अवसरमा सप्ताहव्यापी विविध कार्यहरु संचालन गरिरहेको छ ।
यस्तै, बैंकले यही कात्तिक १३ गते हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा जनज्योति माध्यमिक विद्यालय, मयूरधापको प्रागणमा निःशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । बैंकले हाल देशभरमा ९८ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । जसमध्ये मकवानपुरमा २ वटा शाखाबाट सेवा प्रवाह गरेको छ ।



