आज नेप्से परिसूचक ८७ अंकले वृद्धि
काठमाडौं । लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार नेप्से परिसूचक आज बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६७२ दशमलव २५ विन्दुमा पुगेको हो । यसअघि आइतबार २७ अंकले बढेको नेप्से परिसूचक आज सोमबार ८७ अंकले बढेको हो ।
यस्तै, आज ठूला ‘क’ वर्गका कम्पनीहरुको नेप्से पाक सेन्सेटिभ इन्डेक्स समेत १३ दशमलव ६१ अंकले बढेर ५०४ दशमलव ५७ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । आज सबैजसो उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली छाएको छ । यद्यपि, ८७ अंक माथिले बढेको बजारमा कारोबार रकम भने खासै राम्रो हुन सकेको छैन । नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ८३ लाख ९५ हजार कित्ता बराबरको शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको छ ।
