एमाले नेतृत्वको सरकारले जनहितका धेरै काम गरेको छ – मुख्यमन्त्री शाक्य
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बैठक सुरु भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक प्रारम्भ गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले करिब साँढे ३ बर्षको कार्यकालमा गरेको कामको समिक्षा गरिरहेकी छिन् । उनले एमालेको नेतृत्वमा जनहितकालागि प्रभावकारी काम भएकोसमेत बताइन् ।
प्रदेशमा ६ सय ४० पक्की सडकको बहुबर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लाहरुमा खानेपानीको पहुँच विस्तार गरिएको, राजधानीमा अवस्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने गरी काम भइरहेको, कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई मल, बीउबीजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल संचालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको उनले उल्लेख गरेकी छिन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै प्रदेश सरकारका मन्त्रीहरुका लागि आचारसंहिता लागू गरेका, प्रदेशमा स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना बनाइएको उल्लेख गरिन् । उनले सिन्धुपाल्चोकमा केही महिनाअघि आएको बाढीपहिरो प्रभावितका लागि ९० लाख रुपैयाँ पठाइएको, विपद् व्यवस्थापनमा प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ पठाइएको पनि बताइन् ।
प्रदेश सरकार आत्मनिर्भरतर्फ उन्मुख भएको, वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको, सबैभन्दा कम बेरुजु हुने प्रदेशका रुपमा बागमती प्रदेश स्थापित भएको उनको दाबी छ । उनले सुशासन कायम गर्नका साथै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको, १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि बताइन् । उनले सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गरेरमात्र समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने प्रस्ट पारिन् । आफ्नो नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रमको प्रारम्भिक खाका तयार पारेको पनि उनले बताइन् ।
मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।
आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।
