एमाले हेटौंडा ७ को पार्टी कार्यालय स्थापना
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ कमिटीले पार्टी कार्यालय स्थापना तथा बडादशै, शुभदिपावली, नेपाल सम्बत तथा छठको अवसरमा आज (शनिबार) बिहान शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेको छ ।
वडा कमिटी अध्यक्ष सोमलाल योन्जनको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देबराज रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य रिमालले मकवानपुरे राजनीतिक क्षेत्रमा एमालेको बिरासतमा कुनै कमि नआउने बताए । एमालेको चुनावचिन्हबाट जितेर गएकाहरु अहिले एमालेलाई सिध्याउछु भन्दै हिडिरहेको उनले बताए ।
उनले भने, ‘एमालेलाई कमजोर पर्छु भन्ने मानसिकता त्यागे हुन्छ । एमाले त्यस्तो आधी हो जसले आफ्नो बाटोमा अवरोध गर्ने जोकोहिलाई पाखा लगाउदै अघि बढ्छ ।’ उनले एमालेलाई हराउँछौ भन्नेहरु आफैं हराएर जाने बताए । यस्तै, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष गोपाल श्रेष्ठले स्वार्थका लागि पार्टी फुटाएर जानेहरुलाई माता दुर्गा भवानीले सद्बुद्दी प्रदान गरून् भन्दै शुभकामना दिए । उनले अहिले एमालेलाई फुटाएर मन्त्री बन्नेहरु आगामी निर्वाचनमा सांसद पनि जित्न मुस्किल हुने बताए ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य राजन थापाले जनताको मनमा एमाले सधैं बसिरहने र जनताले सधैं एमालेलाई साथ दिने विश्वास रहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यसहित ११ जना एमाले प्रवेश गरेका छन । उनीहरुलाई प्रदेश कमिटी सदस्य देवराज रिमाल, जिल्ला उपाध्यक्ष गोपाल श्रेष्ठले टीका, खादा र माला लगाएर पार्टी प्रवेश गरेका थिए । कार्यक्रमका बीच नाग्श्वती कम्प्लेक्स अगाडिको भवनमा एमाले ७ नम्बर वडा कमिटी, युवा संघ र अनेम संघको सयुक्त कार्यालय स्थापना पनि गरिएको छ ।

