परराष्ट्रमन्त्री खड्को शपथ बदर गर्न सर्वोच्चमा रिट दर्ता

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १७:४२

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । अधिवक्ता न्यौपानेले दर्ता गराएको रिट निवेदनमा नेपालको संविधानको धारा ८० बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न÷नगराउन भनी सर्वोच्चबाट अन्तरिक आदेश जारी हुनुपर्ने उल्लेख छ ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश निष्क्रिय भएको अवस्थामा कानुनको अभावमा शपथ ग्रहण गर्नु कानुनी राज्यको प्रतिकूल हुने रिटमा उल्लेख छ । उक्त रिटको पेशी बुधबारका लागि तोकिएको अधिवक्ता न्यौपानेले जानकारी दिए ।