राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, केहीदिनमै मन्त्रिपरिषद विस्तार हुने

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार ०८:३४
file-photo

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खोज गरेकी हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ गत भदौ १ गते सिफारिस गरेको थियो ।

गत भदौ २ गते राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेसँगै अबको केही दिनमा नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी सत्तारुढ दलहरुको तयारी छ । मन्त्रिपरिषद् विस्तारको लागि प्रधानमन्त्री देउवाले मन्त्री बनाउनेहरूको नाम सत्ता गठबन्धन दलका नेताहरूसँग मागिसकेको र केहीदिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनमा आबद्ध नेताहरुले बताए ।