उद्योगी व्यवसायी मर्कामा छन्, सरकारले ठोस कदम चाल्नुपर्छ – उपाध्यक्ष न्यौपाने

तु खबर संवाददाता
२०७८ आश्विन ७, बिहीबार १६:१२

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगततर्फका उपाध्यक्ष रामप्रसाद न्यौपानेले कोरोना संक्रमणको जोखिमका कारण सरकारले विभिन्न समयमा गरेको लकडाउनबाट सबैखाले व्यवसायी मर्कामा परेको भन्दै उनीहरुको व्यवसायिक सुरक्षाको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन् । विहिबार तु खबरसंग कुराकानी गर्दै न्यौपानेले लामो समयको बन्दाबन्दीका कारण मकवानपुरका उद्योगी व्यवसायी पनि धराशायी बन्दै गएको भन्दै बैंकको ब्याज छुट तथा कर छुटजस्ता व्यवसायिक हितका कार्यक्रम अघि सार्न सरकारलाई आग्रह गरे ।

२०७४ पुस १७ गते उद्योग वाणिज्य संघको उपाध्यक्षको कार्यभार संहालेका उनले वस्तुगत संघहरुलाई जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयलगायतका सरोकारवाला निकायहरुमा नविकरण गराउने कार्यको थालनी गरेका हुन् । वस्तुगत संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई विभिन्न समयमा कर छुटका विषयमा अभिमूखिकरण करसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले विभिन्न तालिमको आयोजना गरिएको उनी स्मरण गर्छन् । वस्तुगत संघमा आवद्ध र अन्य व्यवसायीकाबीच सुमधुर सम्बन्ध स्थापित गराउन उनकै अगुवाइमा अन्तरक्रियात्मक कार्यक्रमसमेत भए ।

संघले करिब ५ करोड बढी लागतमा ३० कोठे आवासीय पल्पसा सदन निर्माण गरेको छ । केही दिनभित्रै संचालनको तयारीमा रहेको सो सदन प्रयोग गर्ने व्यवसायी र संचारकर्मीलाई परिचयपत्रको आधारमा २० प्रतिशत छुटको व्यवस्था मिलाइएको र अन्य नागरिकलाई पनि सहुलियत प्रदान गरिन लागिएको उनी बताउँछन् । त्यस्तै संघको नेतृत्वमा २१ वटा संघसंस्था मिलेर कोरोनाबाट प्रभावित आम नागरिक र व्यवसायीका लागि ३० वेड क्षमताको पल्पसा आइसोलेसन संचालन गरिएको थियो । आइशोलेसनको व्यवस्थापनमा पनि न्यौपानेको भूमिका महत्वपूर्ण थियो । यही कार्यसमितिले परिचय पत्रका आधारमा व्यवसायीलाई स्वास्थ्य उपचारमासमेत छुटको प्रबन्ध मिलाएको उनी बताउँछन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा मेरो उम्मेदवारी

न्यौपाने आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा आफ्नो उम्मेदवारी वाणिज्यतर्फको उपाध्यक्ष पदमा रहने बताउँछन् । वस्तुगत र वाणिज्य क्षेत्र मिल्दोजुल्दो हुने उनको बुझाई छ । २०२९ असोज ८ गते सिन्धुपाल्चोक जिल्लामा जन्मिएका न्यौपाने  २०३३ मा परिवारसंगै हेटौंडा आएका हुन् । घरमै फर्निचरसम्बन्धि कारखाना संचालन गरेका उनले केही बर्षको अनुभव पछि २०५८ मा फर्निचर पसल संचालन गरे ।

सुरुवाती चरणमा १० लाख ऋण खोजेर व्यवसाय सुरु गरेका न्यौपानेलाई मिहेनत र लगनशीलताले व्यवसायिक क्षेत्रमा स्थापित गरायो । ‘१० लाख ऋण गरेर काम सुरु गरेको थिएँ, अहिले १ करोडको हाराहारीमा छ ।’ उनले भने । आफु निकै मिहेनत गरेर यहाँसम्म आएको बताउँदै आफुजस्तै स्थापित हुन चाहाने व्यवसायिलाई मद्धत गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

उनले आफ्ना एजेण्डाहरुमा उद्योग वाणिज्यमैत्री कानून निर्माणका लागि सम्बन्धित निकायसंग भूमिका निर्वाह गर्ने, व्यवसायीहरुमा उद्यमशीलता अभिबृद्धि गराई दक्ष अनुभवि र सवल उद्यमी बनाउन क्षमता विकास कार्यक्रम संचालन गरिने, संघको नयाँ सदस्यता शुल्क र नविकरण शुल्क कम गरिने, व्यवसायी संरक्षणको लागि दर्ता एवम् नविकरण हुने निकायसंग समन्वय गरी शुल्कको २० प्रतिशत व्यवसायी हीत कोषमा राख्न परिणाममुखी पहल गरिने उल्लेख गरेका छन् ।

त्यस्तै घरबहाल करको समस्यालाई समाधान गर्न सम्बन्धित निकायसंग समन्वय गर्ने, वस्तुगत संघहरुलाई कार्यालय व्यवस्थापन गरी, व्यवस्थित रुपमा अगाडि बढाई अध्ययन अवलोकन, अभिबृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाउने, संघको समिति विस्तारको पहल गर्नुको साथै पल्पसामा २ हजारभन्दा बढी मानिस अट्ने सभाहल निर्माणको पहल गर्ने उनको योजना छ । मउवा संघ एवम् प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकालगायतसंग पिपिपिको अवधारणामा उद्योग व्यवसाय लक्षित कार्यक्रमहरु साझेदारीमा संचालन गरिने उनी बताउँछन् ।

प्लस टु सम्मको अध्ययन गरेका उनी मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको २०६० सालमा संस्थापक सचिव बने । २०६९ सालमा सो संघको अध्यक्ष, २०७० मा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको संस्थापक प्रथम उपाध्यक्ष, २०७३ मा बरिष्ठ उपाध्यक्ष हुँदै हाल नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्ष भएर काम गरिरहेका छन् । नेपाल रेडक्रश सोसाइटीलगायत सामाजिक संघ संस्थाहरुमा उनको उपस्थिति बलियो छ । संघको कार्तिक ७, ८ र ९ गते हुने अधिवेशनमा सबै व्यवसायीको साथ पाए निर्वाचित हुने र राम्रो काम गर्ने उनको भनाई छ ।