माओवादीले अवसर पाउँदा जनपक्षीय काम गरेको मोक्तानको दाबी
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले देशमा सुशासन, समृद्धि र विकास माओवादीबाट मात्रै सम्भव रहेको बताएकी छन् । नेकपा माओवादी इन्द्रसरोवर गाउँपालिकाको कार्यालय उद्घाटन तथा विस्तारित बैठकमा बोल्दै उनले नेपाली जनताको हितका लागिे आफ्नो पार्टी सदैव लडिरहेका बताइन् ।
माओवादीले अवसर पाउँदा जनपक्षीय काम गरेको दाबी गर्दै उनले भनिन्, ‘कृषि ऋण मिनाहा, एकल महिला भत्ता, लोडसेडिङको अन्त्य, विजुली महशुल छुट, हालै मात्र पनि दीर्घ रोगीका लागि भत्ता, मासिक २० युनिट भन्दा कम खपत गर्नेलाई निशुल्क बिजुली लगायत जनहितका काम गरेका छौं ।’ पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने अभियानमा लागि परेको उनले बताइन् ।
यस्तै, कार्यक्रममा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख कमानसिं पाख्रिनले देशको स्वाभिमान जोगाउन संघर्ष गर्ने इमानदार पार्टी नै माओवादी भएको बताए । विचारसहितको पार्टीले मात्रै समाज परिवर्तनलाई सही नेतृत्व दिन सक्ने भन्दै उनले परिवर्तनलाई संस्थागत गर्न सक्ने क्षमता माओवादीमा मात्र देखिएको दाबी गरे ।
विस्तारित बैठकमा गाउँपालिका कमिटी अध्यक्ष विर्जु पदम लामाको अध्यक्षतामा भएको ईन्द्रसरोबर गाउँपालिका ईन्चार्ज विनायक गोले, वाईसीयल जिल्ला सदस्य सानुबाबु मोक्तान, थाहा नगर कमिटी अध्यक्ष मानसिं दोङ, उपाध्यक्ष दिवाकर गोपाली, अनेरास्ववीयु क्रान्तिकारी मकवानपुरका सह–सचिव मुकेश गोले लगायतको उपस्थिति रहेको थियो । उक्त बैठकले आगामी असोज ९ गतेदेखि पार्टी सुदृढिकरण तथा संगठन विस्तार, पार्टी सदस्य नविकरण, वडा पार्टी सम्मेलन तयारी गर्ने र असोज १५ गतेदेखि वाईसीयल गाउँ सम्मेलन गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने निर्णय गरेको गाउँपालिका इन्चार्ज विनय गोले जानकारी दिए ।

