एकीकृत समाजवादीको पालिका स्तरीय कमिटी गठन सुरु

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार ०९:३७

मकवानपुर । मकवानपुरमा नेकपा एकीकृत समाजवादी पार्टीको पालिका स्तरमा कमिटी गठन सुरु भएको छ । शनिबार मकवानपुरको बागमती गाउँपालिकामा भएको भेलाले पालिकास्तरीय कमिटी गठन गरेको हो ।

भेलाले एकीकृत समाजवादी बागमती गाउँपालिकाका अध्यक्षमा धनपति तिमल्सिना चयन गरेको छ । भेलाले तिमल्सिनाको संयोजकत्वमा २५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । पार्टीको पालिका उपाध्यक्षमा चर्तुमान रखाल, सचिवमा हेमकुमार ग्यालन, सह–सचिव प्रयागराज खनाल (नवराज) चयन भएका छन् ।

कार्यक्रम नेकपा एकीकृत समाजवादीका नेता खड्कबहादुर पुलामीको अध्यक्षता तथा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले केपी शर्मा ओली नेतृत्वको एमालले समाजवादको एजेण्डा छाडेपछि सो पार्टीबाट बिद्रोह गर्नु परेको बताए । उनले ओलीका कारण कम्युनिष्ट आन्दोलन ध्वस्त हुन लागेको बताए । बागमती गाउँपालिकाबाट सुरु भएको पालिका स्तरीय कमिटी गठन अब मकवानपुरको १० वटै पालिका र १०२ वटै वडामा पुर्याने बताए । कार्यक्रममा पार्टी सचिव विष्णु दाहाल, जिल्ला कमिटी सदस्यहरु नारायण तिमल्सिना, माधव तिमल्सिना, भक्तबहादुर आले, राजप्रकाश भन्डारी, भरत लामिछाने, विष्णुकुमारी तिमल्सिनाको आतिथ्यता रहेको थियो ।