२ नम्वर प्रदेश सरकारले संविधान दिवस नमनाउने

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार १४:४८
file-photo

जनकपुर । २ नम्वर प्रदेश सरकारले यसवर्ष पनि संविधान दिवस नमनाउने भएको छ । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनेको थियो । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् । र, संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर पनि यो सरकारले संविधान दिवस नमनाउने भएको हो । विगतका केही बर्षहरुमा २ नम्वर प्रदेश सरकारले संविधान दिवस मनाएको छैन ।

मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउन अहिले उपयुक्त समय नभएको बताएका छन । उनले भने, ‘यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं । तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन् ।’ संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए ।
संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उनको भनाई छ । सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसबाट मन्त्री बनेका रामसरोज यादव पनि प्रदेश सरकारले कुनै कार्यक्रम नगर्ने जानकारी पाएको बताउँछन् ।

तर, प्रदेशका कर्मचारीहरुले भने प्रत्येक वर्षझैं यसपटक पनि संविधान दिवसको अवसरमा केही कार्यक्रम गर्ने भएका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीका अनुसार संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । यसबाहेक सरकारी कार्यालयहरुको पनि सरसफाइ गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।