२५ मिटर सडक विस्तार प्रकरणः ‘मेयर महतले भ्रम सृजना गरे’
मकवानपुर । हेटौंडा बसोबास संरक्षण मूल समितिले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने सन्दर्भमा हेटौंंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले भ्रम सृजना गरेको आरोप लगाएको छ ।
समितिका अध्यक्ष कृष्ण कटुवालले आज हेटौँडामा पत्रकार सम्मेलन उपमहानगरपालिकाका मेयर हरिबोल महतले चाडपर्वको मुखमा सडक विस्तार हुन्छ भन्दै भ्रम सृजना गरेर नगरवासीलाई आतङ्कित पार्न खाजेको आरोप लगाए ।
उनले सरकारले मुआब्जा नदिई हेटौंडा बजार क्षेत्रको सडकको दायाँबाँया २५/२५ मिटर विस्तार गर्दा १ हजार ७ सय ७४ घरधुरी मर्कामा पर्नेसमेत बताएका छन् ।
उनले सर्वोच्च अदालतमा दायर गरेको रिट समेत विचाराधिन रहेको अवस्थामा मेयर महतले सडक विस्तारको हल्ला फिँजाएर जनतालाई अत्याएको दावी गरे ।
उनले सडक विस्तार गर्दा बैकल्पिक मार्ग अवलम्बन गरिनुपर्ने माग गरे । बजार क्षेत्रबाटै सडक विस्तार गर्ने हो भने पनि १६ मिटर मात्रै विस्तार गर्दा हेटौंडाका घरधनीले मुआब्जा माग नगर्ने उनको भनाई छ ।
‘२५ मिटर नै विस्तार गर्ने हो भने, कि त सरकारले मुआब्जा दिनुपर्यो, कि बैकल्पिक मार्ग रोज्नुपर्यो । नत्र १६ मिटर मात्रै विस्तार गर्ने हो भने हामीलाई मुआब्जा चाहिँदैन ।’ उनले भने ।
उपमहानगरपालिकाका मेयर महतले भदौ ९ गते पत्रकार सम्मेलन गरी बजार क्षेत्रको सडकको दायाँबायाँ २५/२५ मिटर सडक विस्तार गर्न आवश्यक रहेको र नगरसभाबाटै निर्णय गराएर सो कार्यको लागि पहल भइरहेको बताएका थिए ।
