निर्दोष पत्रकारलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीद्वारा स्वीकार
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकार गरेको छ ।
प्रहरीले यस घटनामा पत्रकार महासंघ पत्रकार महासंघ रौतहट शाखाकै एकजना पदाधिकारीको संलग्नता रहेको पनि जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उनको दाबीअनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।
अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहले बताए । उनका अनुसार अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको शाहले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरिएको जनाएको थियो । हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।
