सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ६, आईतवार १२:१८

काठमाडौं । बारा, सिरहा र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाको, सिरहा र उदयपुरमा एक–एक जनाको गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गएराति प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा नुवाकोटको घुङताङ ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार, गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका ३ लच्कामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाईघाटबाट मोतीगडातर्फ आउँदै गरेको प्रदेश १, ०१–००५ प ३७१४ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे विजुलीको पोलमा ठोक्किएर पल्टिंदा सोही मोटरसाइकलका चालक ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको हो ।