जाँदा जाँदै डोरमणि पौडेलले भने : एमाले एकतावद्ध छ

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार १७:५३

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले ३ वर्षे कार्यकालमा शिर उच्च राख्ने गरी काम गरेको बताएका छन् ।

बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान मुख्यमन्त्री पौडेलले आफुले साढे ३ वर्षको कार्यकालमा जनताप्रति उत्तरदायी भएर उल्लेख्य काम गरेको बताएका हुन् ।

उनले आफ्नो नेतृत्वमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेशका १३ जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने गरी काम गरेको बताए ।

साथै उनले केही समयभित्रै ती सबै कामको नतिजा देखिने बताउँदै प्रदेश सरकारले सफलतापूर्वक आफ्नो शिर उच्च राखेर सफल भएको गर्भ गर्ने अवस्था आएको उल्लेख गरे ।

देश संघीयतामा गएदेखि नै नेकपा एमाले भित्रको दुई धारलाई मिलाएर सरकारको नेतृत्व आफूले गरेको दावी गर्दै उनले अहिले एकताको लागि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पद हस्तान्तरण गरेको बताए ।

उनले आफूले कसैको दवावमा राजीनामा नदिएको पनि बताए । ‘मैले कसैको दवावमा राजीनामा दिएको होइन, पार्टीले दिएको जिम्मेवारीमा साढे ३ वर्ष बसेर काम गरे, मलाई पद छोड्नुपर्दा कुनै दुःख लागेको छैन । मैले पद छोड्दा पार्टी दुर्घटनामा जानबाट जोगिन्छ भने म त्यसको लागि तयार भएको हुँ,’ उनले थपे ।