दुर्घटनामा हेटौंडाका रेग्मीको मृत्यु
मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमना चुरियामाई नजिकै आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना ६ ख ४६४१ नम्बरको ओम शक्ति यातायातको बस ब्रेक फेल भई सोही दिशामा गइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बस चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने ४९ बर्षीय धर्मराज रेग्मी रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका रेग्मीको उपचारको लागि हेटौंडा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडाको चौकीटोल बस्ने ३५ वर्षीय इन्द्रहादुर कार्कीसहित १९ जना घाइते भएका छन् । उनीहरुको हेटौंडाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामो विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
