अपडेटः मुख्यमन्त्री पौडेलले राजीनामा दिँदै, आजै शाक्यलाई नियुक्त गरिने

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १८:०६

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री डोरमणि पौडेलले केहीबेरमा नै राजीनामा दिने र नेतृ अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिने तयारी भइरहेको जानकारी दिएका छन् ।

एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई राजीनामा गराई नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरिसकिएको बताउँदै उनले आजै नेतृ शाक्य मुख्यमन्त्रीको रुपमा नियुक्त हुने बताए ।

मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गरी आजै नेतृ शाक्यलाई नियुक्त गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पनि तयारी अवस्था रहेको उनले बताए ।

केन्द्रमा माधव कुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी गठन गरेपछि बागमती प्रदेशमा पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको थियो ।

प्रदेशमा एमालेकै सरकार टिकाइराख्न माधव पक्षको नेतृत्व संहाल्दै आएकी अष्टलक्ष्मीलाई मुख्यमन्त्री अफर दिइएको हो ।

राजीनामा दिनुपूर्व पौडेल अहिले अन्तिम क्याविनेट बैठकमा सहभागि छन् ।