एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्ठी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् ।
नेता नेपालले शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकपछि अर्को एक्लौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको र विभाजनको दोबाटोमा पुगेको बताएका छन् ।
नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गर्दै एकता चाहिरहेको उल्लेख गरे ।
उनले एकताको कुरा गर्ने वामदेव गौतमले विधान संशोधन गरेर नेकपा एमालेको अध्यक्षलाई कसैलाई पनि गद्दार घोषणा गर्ने अधिकार अध्यक्षलाई रहने भन्ने कुरा थप गर्न सुझाएको कुरा स्मरण गराए ।
उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे ।
ओलीको अत्याचार सहने अवस्था नभएको बताउँदै ओलीसमक्ष आत्मसमर्पण नगर्ने तर पार्टीलाई रूपान्तरण गरेर अघि बढ्ने उनको भनाई छ ।
