बलात्कारपछि हत्या भएको मकवानपुरकी रुविनाको परिवारलाई सहयोग

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार ०८:३८

मकवानपुर । बलात्कारपछि हत्या भएकी मकवानपुरकी ४ वर्षीया बालिका रुविना पाख्रिनको परिवारलाई आर्थिक रकम तथा खाद्यान्न सहयोग गरिएको छ । आर्थिक रुपमा विपन्न रहेको स्वर्गीय रुविना परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो ।

जसमध्ये जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया र बागमती प्रदेशकी निवर्तमान प्रदेश प्रमुख एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाबाट प्राप्त १० हजार रुपैंया हस्तान्तरण गरिएको थियो ।

हाल जापानमा रहेका मकवानपुरकी चेलीहरु शर्मिला लामा र प्रिया व्लोनबाट ५ बोरा चामल, तेल १ कार्टुन र मसला तथा अनुराधा कोईरालाबाट प्राप्त एक बोरा चामल, नुन, तेल, चना प्रदान गरिएको थियो ।

नगद सहयोग गर्नेमा जापानमै रहेका नेपालको पहिलो स्याटेलाइट निर्माता हरिश श्रेष्ठबाट ३ हजार, पोखराकी सुशिला श्रेष्ठबाट ३ हजार, मकवानपुरगढीकी गोमा लामाबाट २ हजार ५ सय साथै हेटौंडाकी रश्मी बस्नेत, फापरबारीका भीम परियार, बुढीचौर घर भई हाल दक्षिण कोरियामा रहेका गिरिजा न्यौपानेबाट जनही २ हजारसहित १३ जनाले सहयोग गरेका थिए ।

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका–७, लामिटारस्थित रुविनाको घरमा पुगेर आमा सीतामायाँ पाख्रिन र बुवा शेरबहादुर पाख्रिनलाई नगद र खाद्यान्न सहयोग गरिएको हो ।

सो क्रममा माईती नेपालकी मकवानपुर कार्यक्रम संयोजक मायाँ लामा, मन लामा र जगत टिभीका संचालक अशोकसुजन श्रेष्ठले नगद र खाद्यान्न हस्तान्तरण गरेका थिए ।

रुविनाको गत मंसिरको ३ गते साँझ रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको थियो । रुविनाको बलात्कार र हत्या गरेको आरोपमा आफन्त नातापर्ने स्थानीय एक किशोरमाथि मकवानपुर जिल्ला अदालतमा मुद्धा चलिरहेको बताईएको छ ।