मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या कति पुग्यो ?
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ का ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने ६१ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, हेटौंडा–७ का वृद्धमा गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भई साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । उनको मंगलबार मृत्यु भएको हो ।
त्यस्तै, भीमफेदी–१ का ६१ वर्षीय पुरुषमा गत साउन ९ गते कोरोना पु्ष्टि भएको भई साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ५२ पुगेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका १ सय ९ जना, मनहरी गाउँपालिकाका ११ जना, थाहा नगरपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती र बकैया गाउँपालिकाका ४/४ जना, कैलाश र राक्सिराङ गाउँपालिकाका २/२ जना रहेका छन् ।
