मकवानपुरमा थप ९० जना भए संक्रमणमुक्त, एकको मृत्यु
मकवानपुर । मकवानपुरमा मंगलबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २३५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ११४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा र १२१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ४५ जनामा कोरोना पुष्टि भएको हो। आजको कोरोना संक्रमित दर १९ प्रतिशत रहेको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६८ जना पुगेको छ ।
यस्तै, जिल्लामा आज थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९० जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ६८ जना, थाहानगरपालिकाका ७ जना, मकवानपुरगी गाउँपालिकाका ४ जना, बागमती गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका दुई जना र बकैया गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ८ सय ३५ जना पुगेको छ ।
यस्तै, जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५० जना पुगेको छ । आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १५० जना पुगेको छ । आज हेटौंडा उपमहानगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
