कसैसँग शिर निहुराएर सम्झौता नगर्ने : नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै आफुहरुले कसैसँग शिर निहुराएर सम्झौता नगर्ने बताएका छन् ।
मंगलबार बानेश्वरमा अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले अध्यक्ष ओलीतर्फ संकेत गर्दै आफुहरु कसैको टाङमुनि नछिर्ने र कसैसँग नझुक्ने बताएका हुन् ।
उनले भने, ‘हामी कसैसँग शिर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँ, गलत र दम्भीसँग डराउँदैनौ ।’
‘दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहन्छौँ, यो हाम्रो अठोट हो । दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता छ,।’ उनले भने ।
उनले उक्त कार्यक्रममा सहभागी भएका कर्णाली प्रदेशसभामा सदस्य तथा एमाले नेता अम्बरबहादुर थापालाई संकेत गर्दै भने, ‘तपाईंहरुले फ्लोर क्रस गरेर संस्था (प्रदेशसभा) जोगाउनुभयो, तपाईंहरुमाथि कारबाही भएछ भने पनि आगामी चुनावमा जिताउने जिम्मा मेरो भयो ।’
