मकवानपुरमा थप ६९ जना संक्रमणमुक्त, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आइतबार थप ६९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६९ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशमा बसेका ५७ जना र संस्थागत आइसोलेशनमा बसेका १२ जना गरी ६९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । त्यहाँ आइतबार ३९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिका र कैलाश गाउँपालिकाका १÷१ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका १४ जना र बकैयाँका ५ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ६ सय ६८ जना पुगेका छन् ।
यस्तै, जिल्लामा आज थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको कूल संख्या १३ हजार ९ सय ३८ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी आज जिल्लामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४८ जना पुगेको छ ।
