पिकअप भ्यान दुर्घटना हुँदा दाहालको मृत्यु, २५ भन्दा बढी घाइते

तु खबर संवाददाता
२०७८ श्रावण २३, शनिबार ०८:५७

मलङ्गवा । सर्लाहीको लालबन्दीमा पिकअप भ्यान पल्टिएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा नमुना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज र भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।