दश बर्षदेखि अलपत्र बागमती पुल, जोखिम मोलेरै खोला तर्छन् स्थानीय

बलराम पुडासैनी
२०७८ श्रावण २०, बुधबार १८:०७

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्वर–३ जोड्ने बागमती खोलाको पुल निर्माणको कामले पूर्णता नपाउँदा स्थानीयहरु समस्यामा परेका छन् ।

पक्की पुल बन्ला अनि सहज होला, भन्ने आशामा बर्षौँ बिताएका स्थानीयवासी अहिले पनि उर्र्लिएको बागमती तर्नका लागि जोखिम मोल्न बाध्य छन् ।

दश बर्ष लगाएर पुलको अधिकाँश भाग ढलान त भयो । तर, मकवानपुर र सिन्धुली जिल्ला जोड्ने धरान चतरा सडकखण्डसम्म पुल विस्तार हुन भने सकेको छैन । जसका कारण दुवैतर्फका जनताले सास्ती खेप्नु परिरहेको छ ।

सिन्धुली र मकवानपुरका जनतालाई खोलाकोबीचमा निर्माणाधीन पुलसम्म पुग्न भर्याङ्को साहारा लिनुपर्ने बाध्यता छ ।

स्वच्छन्द भैरव निर्माण सेवा नामक निर्माण व्यवसायी कम्पनीले उक्त पुल २०६८ असार २९ गते २१ करोड रुपैयाँ लागतमा पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरीे ठेक्का पाएको थियो ।

संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेको उक्त मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) सडकखण्ड सिन्धुली र मकवानपुर जोड्ने पुलको सडकतर्फको काम करिब ९० प्रतिशत पुरा भइसके पनि सिन्धुली र मकवानपुर जोडिन भने सकेको छैन ।

४ सय ३ मिटर लामो पुल निर्माणको काममा निर्माण व्यवसायी कम्पनीको ढिलासुस्तीको कारण सडकसम्म नजोडिदाँ आवतजावत गर्न समस्या भएको स्थानीयवासी गुनासो गर्छन् ।

सुरुवाती चरणमा सडक विभागको पुल महाशाखाले यसको रेखदेखको जिम्मेवारी लिएको थियो, विभागअन्र्तगत तत्कालीन धरानमा रहेको पुल सेक्टरले यसको रेखदेख गर्दै आएकोमा तत्कालीन धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना) ले नै रेखदेख गर्ने गरी सम्झौता भएको थियो ।

विभिन्न समयमा म्याद थप गर्दै पुल निर्माणको कार्य सम्पन्न गर्न २०७५ असोजसम्मको समयसीमा तोकिएको थियो । तर, निर्माण व्यवसायी कम्पनी स्वच्छन्द भैरवले निर्माणको काम क्यानन गौतम जेभी नामक कम्पनीलाई पेटी ठेक्कामा दिएको थियो । पछिल्लो समय पाच पटकसम्म म्याद थपिँदै आएको सो पुलको निर्माण सम्पन्न गर्नुपर्ने मिति २०७८ साल असारसम्म थियो ।

ठेकेदार कम्पनी र पेटी ठेकेदारले समयमै काम नगर्दा पुल अलपत्र बन्न पुगेको हो ।

सो पुल अलपत्र भएपछि जोखिम मोलेरै दैनिकी टार्न खोला वारपार गर्दै आएका स्थानीयहरु अहिलेपनि जोखिमकै यात्रा गर्न बाध्य छन् ।