दीगो विकासका लागि सबैको सहयोग आवश्यक – मन्त्री फुयाल
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेशमा दीगो विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
उनले राजनीतिक दल, नागरिक समाज, निर्माण व्यवसायी, पत्रकार जगत र आम नागरिकको सहयोग भएमात्रै सरकारले गर्न लागेको योजनाले पूर्णता पाउने र दीगो विकास हुने बताए ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा गोष्ठीको समापन समारोहमा बोल्दै मन्त्री फुयालले प्रदेशको पूर्वाधार विकास भन्नाले केवल सडक निर्माण मात्र हो भन्ने सोच र चिन्तनलाई परिवर्तन गरेर लक्ष्यलाई कार्यान्वयन गर्नेतर्फ सम्बन्धित कार्यालय प्रमुखहरु चनाखो हुनुपर्ने बताए ।
उनले प्रदेशका प्रत्येक मन्त्रालयहरुले आपसी समन्वय र सहकार्य गरेर बहुबर्षीय योजनाहरु एकै भेगमा मात्रै एकरुपता ल्याउने र त्यसको गुणस्तरीय कायम गर्नेतर्फ कार्यालय प्रमुखहरुले इमान्दारीता प्रदर्शन गर्नुपर्ने उनले बताए ।
उनले प्रदेश सरकारले अहिले प्रदेशमा कोभिड–१९ बाट पीडित सर्वसाधारण नागरिकहरुलाई कोभिडविरुद्धको खोप अनिवार्य लगाउने र उपचार सेवाको लागि अस्पतालको स्तरोन्नती गर्दै अक्सिजन, भेन्टिलेटर, आइसियू र पीसीआर प्रयोगशालालाई स्थापना गर्ने क्रममा बजेट विनियोजिन गरी क्रमशः कार्यान्वयन गर्दै लगेको उल्लेख गरे ।
मन्त्री फुयालले प्रदेशमा सुशासन ल्याउन जनतालाई आर्थिक समृद्धितर्फ सहभागिता गराउने उद्देश्यले कृषि उत्पादन, पशुपालन र पर्यटन क्षेत्रको विकासलाई तीब्रता दिइएको उल्लेख गर्दै सरकारले लगानी गरेअनुरुप प्रदेशवासीले त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाको सृजना गर्न सम्बन्धित कार्यालय प्रमुख र प्राविधिकहरु गम्भीर हुनुपर्ने बताए ।
