लुम्बिनी प्रदेशः धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष निवेदन

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १५:५६

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै प्रदेश प्रमुख समक्ष निवेदन दिएको छ ।

सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समक्ष सरकार गठन गर्न संयुक्त निवेदन दिएका हुन् ।

प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीले निवेदनमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आफूहरुले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको अवस्थामा सो प्रस्तावमाथि छलफल गर्न तत्कालीन प्रदेश प्रमुखले गत वैशाख १९ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको स्मरण गराउँदै उनीहरुले सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको उल्लेख गरेका छन् ।

विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको थियो । तर, मुख्यमन्त्री पोखरेलले विभिन्न बहाना देखाएर विश्वासको मत लिन आनाकानी गर्दै आएपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई सरकार गठनको लागि आह्वान गर्न निवेदन दिएका हुन् ।