बागमती प्रदेशमा युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रमः ३ वर्षमा ८ प्रतिशत मात्रै खर्च

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १३:५३

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले नव प्रबन्धक युवा बैज्ञानिक प्रोत्साहन कार्यकम अन्तरगत ३ बर्षमा विनियोजन गरेको कुल २५ करोडको ८.४ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश सरकारले युवा पुस्तालाई खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यले वितेको आर्थिक वर्ष ०७५/०७६ बाट बजेट विनियोजन गरी उक्त कार्यक्रम लागु गरेको भएपनि सोचे अनुसारको प्रगति भने प्राप्त हुन नसकेको हो ।

सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रम अन्तरगत विभिन्न ५ वटा विधामा वैज्ञानिक अनुसन्धान कार्य प्रारम्भ गर्न ३ वटा आर्थिक वर्षमा २ करोड १० लाख रुपैया मात्रै खर्च गरेको हो ।

मन्त्रालयले युवा वैज्ञानिकलाई खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यका साथ आर्थिक सहायता उपलब्ध गराउनका लागि आर्थिक बर्ष ०७५/०७६, ०७६/०७७ र ०७७/०७८ मा गरी २५ करोड बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयले विभिन्न ५ वटा विधामा अनुसन्धान गर्न विभिन्न व्यक्ति तथा संस्थाहरुको आवेदन माग गरी आवश्यक अध्ययन पश्चात अनुसन्धान कार्य प्रारम्भ गर्न बजेटसहित अनुमति प्रदान गरेको थियो ।

मन्त्रालयले राष्ट्रिय निकुञ्जहरुमा प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडिहरुहरुलाई विद्युतीय सवारीमा परिणत गर्ने, पहाडी भेगमा पाइने रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोग, माछा पालनमा महत्वपूर्ण मानिएको इन्जाइम उत्पादनका लागि आवश्यक व्यक्टेरीया स्थानीय माछा पोखरीमा नै गर्ने, बागमती प्रदेशमा पाइने प्राकृतिक जडिबुट्टी खोज तथा रसायनिक तत्व, र औषधि उत्पादन तथा उपचारमा प्रयोग, मानिसको दाँत परिवर्तनको तेस्रो विधिको बारेमा अनुसन्धान गर्न सो बजेट खर्च गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ती ५ विधा मध्ये राष्ट्रिय निकुञ्जहरुमा प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडिहरुहरुलाई विद्युतीय सवारीमा परिणत गर्ने बारेको अनुसन्धानका लागि कुल १९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ आर्थिक सहायतामा अनुसन्धान सुरु गरेकोमा १० लाख ९ हजार रुपैयाँ मात्र बजेट खर्च गरी निकाशा दिएको हो ।

त्यस्तै रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोगबारे अनुसन्धान कार्य गर्न कुल ३४ लाख ९४ हजार ३ सय १ रुपैयाँ सहायता दिइएकोमा हालसम्म ७ लाख ६० हजार ८ सय ३३ रुपैयाँ बजेट मात्रै खर्च भएको छ ।

७० लाख ५४ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहायता दिएर माछा पालनमा महत्वपूर्ण मानिएको इन्जाइम उत्पादनका लागि आवश्यक व्यक्टेरीया स्थानीय माछा पोखरीमा नै गर्ने बारेको अनुसनधान कार्यमा हालसम्म २७ लाख रुपैयाँ खर्च मन्त्रालयले दिएको छ ।

प्राकृतिक जडिबुट्टी खोज तथा रसायनिक तत्व, र औषधि उत्पादन तथा उपचारमा प्रयोग बारेको अनुसन्धानका लागि दिइएको कुल ६९ लाख ६७ हजार ५ सय ६९ रुपैयाँ मध्ये हालसम्म ३३ लाख रुपैयाँ खर्च भए अनुसार निकाशा गरिएको छ ।

दाँत परिवर्तनको तेस्रो विधिका बारेमा अनुसन्धानमा दिइएको कुल १५ लाख २२ हजार १ सय १० रुपैयाँ आर्थिक सहायता दिएकोमा हालसम्म ८ लाख ७० हजार रुपैयाँ खर्च भए अनुसार निकाशा दिइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।