कोरोनाका कारण एकै परिवारका तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार ०९:१४
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट १५ दिनको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।

सङ्क्रमणका कारण १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, ७ दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए ।

खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएकोस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।