सिन्धुपाल्चोकमा बाढीः रातो पुल र रेडियो मेलम्चीको भवन बगायो
मकवानपुर । गएरातीको अविरल बर्षापछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुर्याएको छ ।
बाढीले आइतबार बिहान नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुल (रातो पुल)ले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो एकमात्र पक्की पुल (ट्रस्ट ब्रिज) पनि बगेपछि हेलम्बुसँगको सडक सम्पर्क विच्छेद भएको त्यहाँका अनलान संचारमाध्ययमहरुले जनाएका छन् ।
बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ ।
मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन ।
हेलम्बु गाउँपालिका वडा नम्वर १ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । बाढी अहिले पनि नघटेको प्रहरीको भनाई छ ।
असारको पहिलो हप्तादेखि आएको बाढीले ५ जनाको ज्यान लिएको छ भने १५ जना अझै बेपत्ता छन् ।
