पिप्ले युवा क्लबद्वारा बक्सिङ खेलाडी सम्मानित

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार ०७:४४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले युवा क्लबले बक्सिङ खेलाडीहरुलाई सम्मान गरेको छ । क्बले युनाइटेड अरब इमिरेट्सको राजधानी दुबईमा हुने जुनियर एण्ड युथ एसियन च्याम्पियनशिप प्रतियोगिताका लागि काठमाडौंमा भएको छनोट प्रतियोगितामा सहभागी मकवानपुरका ३ जना बक्सिङ खेलाडीलाई सम्मान गरेको हो ।

शनिबार हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा छनोट प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय खेलाडीलाई सम्मान गरिएको हो । उक्त क्लबले ६४ केजी तौल समूहमा प्रथम भएका सोहन राई र ४६ केजी तौल समूहमा प्रथम भएकी रोशनी घलानलाई जनही २–२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, प्रथम र द्वितीय भएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पूर्ववरिष्ठ प्रशिक्षक ध्रुबलाल श्रेष्ठले क्रमशः ८/८ सय र ५ सय रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरेका थिए भने पूर्वबक्सिङ खेलाडी अमित मानन्धरले खेलाडीहरुका लागि ५ सय रुपैयाँ र २ कार्टुन फ्रुटी प्रदान गरेका थिए ।

क्लबले पूर्ववरिष्ठ प्रशिक्षक ध्रुबलाल श्रेष्ठ, छनोट प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका मकवानपुरका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेल, अनिलप्रसाद दाहाल, एमामुद्दिन मुन्ना, अमित मानन्धर तथा सानु बोम्जन लामालाई पनि खादा ओढाएर सम्मान गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

कार्यक्रममा हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँ, वडा सदस्य ज्ञानबहादुर थापा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजलगायतको आतिथ्यता रहेको थियो ।