कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १५:५८
file-photo

काठमाडौं । कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका वडा नम्वर ७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका हुन् ।

नम्वर नखुलेको जीप चालकले ब्याक गर्ने क्रममा सडकबाट कर्णाली नदीमा खसेको हो ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता
छन् ।

बेपत्ता भएका उनीहरुको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर रहेको थाहा भएको छ ।

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।