सरकार संचालनको लागि संयुक्त संयन्त्र बनाउन माओवादीको प्रस्ताव

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १५:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रले संयुक्त संयन्त्र बनाउन प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहितासहित सरकार संचालनको लागि संयुक्त संयन्त्र बनाउन आग्रह गरे ।

अहिले मुलुकमा वाम–प्रजातान्त्रिक एकताको माहोल बनेको उल्लेख गर्दै पोखरेलले यसलाई अझ व्यवस्थित बनाएर जानुपर्ने बताए ।

उनले भने ‘यतिखेर वाम–प्रजातान्त्रिक एकताको माहोल बनेको छ । यसलाई अझ व्यवस्थित गरौं,’ उनले अगाडि भने, ‘२०७२ सालमा संविधान जारी भए लगत्तै अवलम्बन गर्नुपर्ने त्यो बाटो थियो । कतै कमीहरु भए । नयाँ परिस्थिति आएको छ, फेरि एक पटक व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता छ ।’