कोरोनाका कारण रोकिएको त्रिविको परीक्षा आजबाट सुरु
काठमाडौं । कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि सुरु भएको छ ।
महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा सुरु भएको छ ।
भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।
कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।
परीक्षा नियन्त्रक जोशीले केही प्राविधिक समस्या आएको स्वीकार्दै अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको जानकारी दिए ।
