बागमती प्रदेशमा जवरजस्ती करणीका घटनामा बृद्धि

तु खबर संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १६:०७

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षहरुको तुलनामा जवरजस्ती करणीका घटनामा बृद्धि भएको छ । प्रदेशको काठमाडौं उपत्यका बाहेक १० जिल्लामा विगतका वर्षभन्दा आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणको घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणीका ३ सय ७ वटा घटनाहरु भएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीका २ सय २८ वटा घटना भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५६ वटा घटनाहरु घटेको तथ्याङ्क रहेको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, बागमती प्रदेशका १० जिल्लामा जवरजस्ती करणीका घटनामा सबैभन्दा बढी १० देखि २० वर्ष उमेर समूहका व्यक्तिहरु पीडित रहेका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र उक्त उमेर समूहका १ सय ६७ जना किशोर किशोरीहरुमाथि जवरजस्ती करणीका घटना भएका छन् ।

त्यस्तै, जवरजस्ती करणीबाट १० वर्ष भन्दा मुनिका ४३ जना बालबालिका, २० देखि ४० वर्षका ६७ जना युवा युवती, ४० देखि ६० वर्षका २४ जना व्यक्ति र ६० वर्ष भन्दा माथिका ९ जना वृद्धवृद्धाहरु जवरजस्ती करणीको शिकार बनेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार, प्रदेशका १० जिल्लामा गत आर्थिक वर्षमा जवरजस्ती करणी अन्तर्गत हाडनाता करणीका ३१ वटा घटनाहरु घटेका छन् ।
त्यस्तै बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणी उद्योग अन्तर्गत ८९ वटा मुद्दा दर्ता भएको छ ।

वितेका ३ वर्षको तुलनामा जवरजस्ती करणी उद्योगका घटनामा पनि बढेका देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणी उद्योगका ६० वटा, २०७६/०७७ मा ८६ वटा २०७७/०७८ मा ८९ पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।