बस दुर्घटनामा एक जनाको मृत्यु, १३ जना घाइते

तु खबर संवाददाता
२०७८ श्रावण ६, बुधबार ०९:५९

काठमाडौं । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्वरको बस पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परी १३ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।