बसको चार्जर अनुसारको चार्जिङ स्टेशन बन्छ – मुख्यमन्त्री पौडेल
मकवानपुर । प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा विपक्षी दलहरुले चर्को विरोध गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र बसको रुटसमेत तय गरिसकिने जवाफ दिएका छन् ।
‘हामीले खरिद गर्न लागेको ३० मध्ये २० वटा बस काठमाडौंमा चलाउनेछौं । बाँकी १० वटा बसहरु मात्रै हामीले उपत्यकाबाहिर चलाउँछौं । त्यसको लागि चार्जिङ स्टेशन बनाउन ठाउँ पहिचान भइसकेको छ ।’ मुख्यमन्त्री पौडेलले भने– ‘विद्युतीय बस खरिद गर्नको लागि हामीले टेन्डर गरिसकेका छौं । कुन कम्पनीको बसको लागि टेन्डर पर्छ अहिले थाहा भइसकेको छैन ।
कुन कम्पनीको विद्युतीय बस आउने र त्यसको चार्जर कस्तो हुने भन्ने थाहा भएपछि हामी बस आइपुग्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाउँछौं ।
भरतपुर बसपार्क, हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेलमा बसपार्कमा चार्जिङ स्टेशन राख्ने निश्चित गरिसकिएको मुख्यमन्त्री पौडेलले बताए । चार्जिङ स्टेशन २ खालका हुन्छन् । एउटा ढिलो चार्ज हुने र एउटा छिटो जार्च हुने । ढिलो चार्ज हुनेवाला काठमाडौंमा राख्छौं, जो रातभर बस चार्ज गर्न पाइयोस् । छिटो चार्ज हुनेवाला चार्जिङ स्टेशन अन्य ठाउँमा राख्छौं । उनले भने ।
तत्कालका लागि काठमाडौं उपत्यकामा २० वटा बस संचालन गर्ने योजनासहित भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र अन्य १० वटा बस काठमाडौं, धादिङ, चितवन, हेटौंडालगायतका ठाउँहरुमा संचालन गर्ने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पौडेलले बताए ।
चार्जिङ स्टेशन निर्माण गर्न बस खरिद अनिवार्य रहेकोले खरिद प्रक्रिया सुरुमा गर्नुपरेको उनले बताए ।
त्यस्तै सशर्ततर्फको अनुदान माग अनुसारको योजना नभई सप्लाइको योजना भएकोले यसमा प्रदेश सरकारले कुनै भेदभाव नगरेको उनले बताए ।
केन्द्रीय सरकारले पठाएको उक्त अनुदान रकम स्थानीय तहसंगको सहकार्यमा वितरण हुने भएकोले यसमा पक्षपातको कुनै अवस्था नरहेको भन्दै औचित्य नभएका अनुदानका कार्यक्रम सच्याउन प्रदेश सरकार तयार रहेकोले प्रष्ट हिसाबले स्थानीय तहहरुले योजनाहरु पठाउन उनको आग्रह छ ।
