न्यायिक समितिमा लैंगिक हिंसाको उजुरी बढी
मकवानपुर । गत असार १० गते हेटौंडा उपमहानगरपालिकाको ९ औं नगरसभामा उपमेयर मीनाकुमारी लामाले लैंगिक समानता तथा समावेशीकरणमा विभिन्न नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् । तर, उपमेयर लामाकै संयोजकत्वमा गठन भएको हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा लैंगिक हिंसाकै उजुरी बढी आउने गरेको पाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा महिला हिंसाका घटनाका उजुरी बढि आएको हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक भीमप्रसाद तिमल्सिनाले जानकारी दिए । वार्षिक करिब २ सयवटा विभिन्न घटना तथा विवादका उजुरीहरु न्यायिक समितिमा आउने गरेको उनले बताइन् ।
न्यायिक समितिमा चालु आर्थिक वर्षमा एक सय ६० वटा मुद्धा दर्ता भएको छ । फैसला प्रक्रियामा रही अघिल्लो वर्षबाट जिम्मेवारी सरेका १८ वटा गरी चालु आर्थिक वर्षमा कुल एक सय ७८ वटा मुद्धा हेटौंडाको उपमहानगरपालिकाको न्यायिक समितिमा आएको थियो। न्यायिक समितिमा आएका मुद्धामध्ये ७१ वटामा मिलापत्र भएको छ भने एउटा मुद्धालाई सम्बन्धित निकायमा जान सिफारिस गरिएको छ ।
यसैगरी ४ वटा मुद्धालाई अदालत जान भनिएको र १५ वटा मुद्धा भने मिलापत्र हुन नसकेको तिमल्सिनाले जानकारी दिए । दुईवटा मुद्धा फिर्ता भएको छ भने एउटा मुद्धामा विपक्षी उपस्थित नभएकोले खारेज गरिएको छ । चालु आर्थिक वर्ष न्यायिक समितिमा ८० वटा मुद्धा प्रक्रियामा रहेका छन् ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत् उपमहानगरको न्यायिक समितिले पाक्षिक रेडियो कार्यक्रम जनप्रतिनिधिहरुसँगको रेडियो सम्बाद र सन्देशमुलक पकेट क्यालेन्डर छपाई तथा वितरण गरिएको छ । समितिको गतिविधि र न्यायिक विषयवस्तु समेटिएको न्यायिक भएक दर्पण स्मारिका प्रकाशनको क्रममा रहेको प्रबन्धक तिमल्सिनाले बताए ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत् लैंगिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहारजस्ता सम्भावित जोखिमहरुको न्यूनीकरण गर्न किशोरकिशोरीलाई सचेतनामूलक तालिम दिने न्यायिक समितिको योजना छ । सहमतिमा हुने जोखिमविरुद्धका कार्यक्रम र महिला विकास सहकारीबाट जनचेतनामूलक कार्यक्रम हुने भएका छन् । बालविवाहविरुद्ध किशोरी बचत अभियान, महिला जागरण समूहमार्फत् कार्यक्रम सञ्चालनका साथै पीडित र प्रभावितका लागि अल्पकालीन आश्रय स्थल सञ्चालन तथा जोखिममा परेका बालबालिकाको उद्धारका लागि ५१ लाख बजेट विनियोजन गरिएको छ। यो समाचार समृद्ध समाजमा छ ।
