हेटौँडा उपमहानगरपालिकाको बजेट भौतिक पूर्वाधारतर्फ मात्रै ५० प्रतिशत

तु खबर संवाददाता
२०७८ असार १२, शनिबार १७:५४

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखि कुल २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाले कूल बजेटको ५० प्रतिशत रकम भौतिक पूर्वाधार विकासमा विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखी भवन, सडक, पुल, निर्माणलाई केन्द्रीत गरेको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि कूल बजेटको ५० दशमलव १८ अर्थात् १ अर्ब ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको आधा भाग हुन आउँछ ।

उपमहानगरपालिकाले नगरसभामा प्रस्तुत गरेको २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट मध्ये आर्थिक विकासमा ४ दशमलव ९९ प्रतिशत, शिक्षा क्षेत्रमा २४ दशमलव ५७ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ३ दशमलव ३५ प्रतिशत, वातावरण संरक्षणमा २ दशमलव ०९ प्रतिशत गरी विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण, हेटौँडा-४ मा बहुवर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण, बृहत्तर चक्रपथ निर्माणलाई विषेश प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा अधुरा योजनाहरु पूरा गर्ने उद्देश्यसहित बजेटलाई सडक स्तरोन्नती, कर्रा करिडोर निर्माण, वडा तथा वस्ती स्तरीय पूर्वाधार योजना संचालनमा केन्द्रीत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*