मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, जोगियो सरकार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।
मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो ।
मुख्यमन्त्री भट्टले विश्वासको मत पाएसँगै सुदुरपश्चिम प्रदेश सरकार जोगिएको छ ।
प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी नभएको हो ।
सुदुरपश्चिम प्रदेशसभामा हाल ५२ जना सदस्य रहेका छन् । तीमध्ये आज ५१ प्रदेशसभा सदस्य मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए ।
