हेटौँडामा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने प्रशासनको निर्णय
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्रको सोमबार बसेको बैठकले हेटौडा उपमहानगरपालिका क्षेत्रमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
बैठकले तीव्र रूपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई मध्येनजर गर्दै वडा कार्यालयसँग समन्वयमा गरी हेटौंडा उपमहानगरपालिकाका प्रत्येक वडामा २/२ वटा अटोलाई ‘अटो एम्बुलेन्स’ को रूपमा प्रयोग गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, प्रशासनले जेष्ठ नागरिकहरुलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन यसअघि बैंकबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ताका सम्बन्धीत स्थानीय तहका वडाध्यक्षहरूले घर–घरमा नै पुर्याउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरू बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मात्र सञ्चालन गर्न दिने र जिल्लाका सबै सवारीसाधनहरू मर्मत गर्ने वर्कशपहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान १० बजेदेखि दिनको ३ बजेसम्म मात्र सञ्चालन गर्न दिइने भएको छ ।
